Thursday, November 4, 2010


ननिदाउने सहरमा नकुल

नरेन्द्र रौले
'अचेल म प्रायः हाँसिरहेको हुन्छु' अलिकति रोकिँदै उनले मुख खोले, 'किन थाहा छ ?' झरी परिरहेको काठमाडौंको साँझ उनले भने, 'म  आफ्नो परिवारसँग छु। नेपाली बोलिरहेको छु र देशको अवस्था जस्तो भए पनि सकारात्मक छु।' 

यसो भनिरहँदा नकुल शेरचनका आँखाभरि सपना थिए। मनभरि योजना थिए र उनीभित्र रहरहरू सलबलाइरहेका थिए। किनभने देशको अवस्था  निराशालाग्दो छ भन्ने जान्दाजान्दै उनी कैयौं माइल टाढा जापानबाट फर्किएका थिए, एउटा अठोट बोकेर। विदेशमा सिकेको सीप उनी आफ्नै  माटोमा खर्चिन चाहन्थे। कमाएको धन स्वदेशमै लगानी गर्ने इच्छा थियो। नकुललाई देशको प्रेमले लपक्कै छोपेकोे थियो। जापान बस्दा उनलाई  कुनै चीजको कमी थिएन। सुख, सुविधा, घर, गाडी, पैसा उनको मुठ्ठीको कुरा थियो। नकुलले खोजेको, चाहेको सबै चीज भेटिए तर 'ने पालीपन' कतै भेटिएन। 

मनभरि रंगीन सपना सँगालेर जापान हानिँदा नकुल भर्खर १९ वर्षमा पाइला टेक्दै थिए। ३७ वर्षअघि बाग्लुङ, बुर्तिबाङमा जन्मिएका नकुल दुई  दाजु र तीन दिदीपछि कान्छा हुन्। परिवारको कान्छो छोरा भएकाले घरमा कत्ति दुःख गर्नुपरेन। त्यो बेला मात्र उनलाई कठिनाइ महसुस भयो  जब जापान पुगेपछि कफी सपमा काम गर्नुपर्‍यो। यो नै उनको जीवनको पहिलो व्यावसायिक काम थियो। भाषाले एकदमै अवरोध गथ्र्यो।  संकेतका आधारमा चल्नुपर्ने भएकाले दैनिक जीवन अलिक असहज लाग्थ्यो। कफी सपबाट सुरु भएको उनको व्यावसायिक यात्रा बिस्तारै बार  र रेस्टुराँसम्म पुग्यो। यसबीच उनले जापानी भाषा सिके। जापानको दैनिकीसँग अभ्यस्त हुन सिके। जीवन क्रमशः सहज हुँदै गयो। संघर्षको  निरन्तरता कत्ति रोकिएन। बिहान सबेरै सुरु हुने उनको दैनिकीले अबेर राति १२ बजेपछि मात्र विश्राम पाउँथ्यो। 

कामप्रतिको यही लगावको परिणाम स्वरूप नकुलले आफ्नै रेस्टुराँ सुरु गरे। संसारको सबैभन्दा महँगो सहर टोकियोमा सञ्चालित शिव रेस्टुराँले राम्रो व्यापार गर्‍यो। पाँच वर्षसम्म रेस्टुराँ चलाउँदा उनले धेरै कुरा आर्जन गरे। ज्ञान, सीप, पैसा, अनुभव र प्रशस्त शारीरिक सुख प्राप्त  गरे। यसरी उनका स्वणिर्म चौध वर्ष जापानमा बिते। उनलाई लाग्यो, 'सांसारिक सुख प्राप्त गरेर मात्र नअघाइने रहेछ।' पराया मुलुकमा दोस्रो  दर्जाको नागरिक भएर बाँच्नुभन्दा आफ्नै देशमा बस्न मनलाग्दो रहेछ। त्यसले उनमा कताकता नियास्रो सिर्जना गथ्र्यो। स्वदेश फर्कौं-फर्कौं  लाग्थ्यो।

जापान कहिल्यै निदाउँदैन। मानिसहरू अहोरात्र काममा खट्छन्। कर्मलाई पूजा गर्छन्। सबै अत्यन्त परिश्रमी छन्। त्यहाँका कुनै पनि सामान्य  कामदार र हाकिमबीच तलबमा पनि त्यति धेरै फरक हुँदैन। श्रमको राम्रो मूल्य छ। त्यसैले आफूले काम गरेको कम्पनीबाटै रिटायर्ड हुने  चाहना हुन्छ सबैको। सबै जापानीमा पाइने समानता के हो भने उनीहरूमा इमानदारिता, परिश्रमी र झूटो नबोल्ने बानी छ। उनीहरू  आज्ञाकारी र आत्मनिर्भर छन्। त्यसैले जापानको भौतिक, आर्थिक एवं अन्य क्षेत्रको विकास द्रुत गतिमा अघि बढ्यो। सधैँ झिलिमिली बत्ती  बलिरहने जापानबाट अरू मुलुक पस्दा गाउँ पसेझैं लाग्ने अनुभव सुनाउँछन्, नकुल। 

नकुलले दिनभन्दा रातमा उज्यालो देखिने जापानका कहलिएका ठूला सहर ओशाका, नागोया, हिरोसिमा र नागासाकीको पटक-पटक फन्को  लगाएका छन्। गगनचुम्बी महल, सफा र चिल्ला सडक, अत्याधुनिक प्रविधिले सम्पन्न यी सहरमा नजर लगाउँदा उनी छक्क पर्थे। कसरी यत्रो  विकास सम्भव भयो ? कसरी देशले आर्थिक रूपमा फड्को मार्‍यो ? थुप्रै प्रश्न मनमा खेलेपछि उनी निष्कर्षमा पुग्छन्- यो सबै परिश्रमको  फल हो। ती सहरमा पाइला टेक्दा उनले पटक-पटक आफ्नो देश सम्झिए। राजनैतिक अन्योल बढ्दो छ, बेरोजगारी बढ्दो छ, युवाशक्ति  पलायन हुँदो छ, अराजकता र दण्डहीनताले प्रश्रय पाइरहेको छ। जताततै निराशालाग्दो स्थिति मात्र तर किन-किन नकुलको आँखामा आफ्नै  देश नाचिरहेको थियो। मनमा गाउँघरको गहिरो छाप बसिसकेको थियो । 

'हो, म आफ्नै देश फर्किएँ।' हँसिलो मुहार लगाउँदै उनका ओठहरू चल्मलाए, 'मलाई यहींको हिलो, धूलो र माटो प्यारो लाग्यो।' अत्यन्तै  सकारात्मक सोच राख्ने नकुलले साढे दुई वर्षको अनुसन्धानपछि अहिले काठमाडौँको गैरीधारामा आफ्नै रेस्टुराँ सञ्चालनमा ल्याएका छन्।  छोरी एलाइसको नामबाट राखिएको यो रेस्टुराँमा उनले ३५ जनालाई रोजगारी दिएका छन्। जापान बस्दा उनले श्रमको सम्मान गर्नुपर्ने कुरा  राम्रैसँग सिकेका छन्। आफ्नो रेस्टुराँमा काम थालेको जुनसुकै व्यक्तिले त्यहींबाटै रिटायर्डमेन्ट लिइयोस् भन्ने उनको मनसाय छ। एलाइस  रेस्टुराँमा बालबालिकादेखि वृद्धावृद्धाहरूसम्म रमाउन सक्ने वातावरण छ। शान्त, मनोरम र खेलहरू खेल्न मिल्ने भएकाले यहाँ दोहोर्‍याएर  आउन मन लाग्छ। मध्यम वर्गदेखि उच्च वर्गका सबै जना यहाँ आउन सकून् भन्ने उद्देश्यले रेस्टुराँ सञ्चालनमा ल्याएको नकुलले बताए। अब  रिसोर्ट खोल्ने तयारीमा छन् उनी- जहाँ धेरै नेपालीलाई रोजगारी दिलाउन सकियोस्। 

नकुल सरल जीवन जिउँछन्। खानपान पनि साधारण छ। उनको खानामा दैनिक ढिंडो छुट्दैन। उनी अत्यन्तै आशावादी व्यक्ति हुन्। जस्तोसुकै  परिस्थितिमा पनि आत्तिँदैनन्। पैसा नै सबैथोक होइन भन्ने धारणा छ उनको। आफूले कमाएर मात्र हुँदैन। आफू जन्मिएको गाउँ, पढेको स्कुल  तथा समाजका लागि केही योगदान दिनुपर्छ भन्ने सोच छ उनमा। त्यसैले होला, उनले आफूले पढेको भुजी उमाविलाई आर्थिक सहयोग गरेका  छन्। सामाजिक क्षेत्रमा योगदान दिने, आफ्ना व्यावसायिक कामहरू अघि बढाउने उनका अरू थुप्रै योजना छन्। 'म सबै काम पूरा गर्नेछु।'  नकुलले यी वाक्य बोलिरहँदा उनको मुहारमा बत्तीको उज्यालो पोखिएको थियो।


From saptahik

No comments:

Post a Comment